प्रम ओली र सुकीबीच भेटवार्ता, द्विपक्षीय हितमा कुराकानी

काठमाडौँ, मङ्सिर १४ । नेपालको औपचारिक भ्रमणमा रहेका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

उक्त अवसरमा उनीले द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी गरेको बताइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले पनि उपस्थिति जनाएका थिए ।

आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिन्छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणालाई स्वीकार्दै नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ आएका थिए । उक्त सम्मेलन शनिबार काठमाडौँमा हुँदैछ ।