कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत : देउवा

काठमाडौँ, मङ्सिर १४ । कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले संयुक्त रुपमा आयोजना गरेको युवा सम्मेलन कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रे्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत रहेको पार्टी भएको बताए ।

नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको सभापति देउवाको भनाइ छ । प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने उनले बताए ।

मुलुकको द्वन्द्व कांग्रेसकै नेतृत्वमा समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उनले कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए ।

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताएका छन् ।

कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवाधिकारका लागि दशकौँ लामो संघर्षपछि कांग्रेसकै नेतृत्वमा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान प्राप्त भएको बताए । उनले नयाँ संविधान कार्यान्वयनका लागि कांग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफल रुपमा सकिएको विचार प्रस्तुत गरे ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरे अनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै नेपालमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको र मुलुकमा राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धि तिरको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको नौ महिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको जनाउँदै सरकार कामभन्दा बढी प्रोपगाण्डामा लागेको आरोप लगाएका छन् ।

तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा, इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले निर्वाह गरेको भूमिकाको बारेमा उल्लेख गरे ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने जानकारी गराइएको छ ।