नेपाल र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौँ, मङ्सिर १४ । नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की बीच आज भएको भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका हुन् । दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ ।

दुई देशका उद्योग वाणिज्य महासंघबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । काउन्सिलर सु की ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिनका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणामा बिहीबार काठमाडौँ आएकी हुन् ।

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जनाए । हाल नेपालमा म्यान्माबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको जनाइएको छ ।

उनले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ ।

डा भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए । म्यान्माले गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ ।

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय बनाउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो ।

उनले सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्माको औपचारिक भ्रमण गरेका थिए भने त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (वि.सं २०३१)मा नेपालको भ्रमण गरेका थिए ।  सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्माको औपचारिक भ्रमण गरेका थिए ।

दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।  म्यान्माले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्यता पाउन सन् २००८ मा प्रस्ताव गरेको थियो ।

वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, डा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्माका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति रहेको थियो ।