काठमाडौँ, मङ्सिर १४ । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन तत्काल गर्न नेविसंघका असन्तुष्ट समुहले माग गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले संघको विधान अनुसार तत्काल अधिवेशन गर्न माग गरेका हुन् ।
बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधान विपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा संघ कमजोर बन्दै जाने र नेविसंघलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनु नहुने उनले बताए ।
परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने उनको भनाइ छ ।
महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै सो समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको हो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले संघको महाधिवेशन समयमै गरिनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लागिपर्नुपर्ने बताए ।