युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम संचालन

गोरखा, मङ्सिर १६ । देशमा बेरोजगारीको समस्या बढ्दै गइरहेका बेला गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउनका लागि युवा स्वरोजगार कार्यक्रम भित्र्याएको छ ।

युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालयले कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला दिन स्वरोजगार कार्यक्रम ल्याइएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले बताए । वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रमको थालनी गरेको उनले जनाएका छन् ।

कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोेसमेत वडाध्यक्ष रेग्मीले जनाएको छन् । समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी भएको उनको भनाइ छ ।

स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा पाँच वर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उनले बताएका छन् ।

वडाध्यक्ष रेग्मीले भने– पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा चयन गरिनेछ । कार्यक्रम अन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु ५० हजार र समूहलाई रु दुई लाखसम्मको अनुदान सहयोग गर्ने उनले बताएका छन् ।

सामान्य रोजगारीको खोजिमा अधिकांश युवा भौतारिँदै विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम अगाडि बढाइएको वडाध्यक्ष रेग्मीले जनाए ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

उनले भने– अहिले युवा महीनामा रु २०/३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन् । युवालाई आफ्नो देशमै आत्मनिर्भर बनाउन सके देश तथा गाउँको मुहार फेरिन समय नलाग्ने उनको तर्क छ ।