राँझा, मंसिर १६ । प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छिन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै उनले निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउँदा विकास प्रभावकारी हुनसक्ने बताइन् ।
कृषिको व्यावसायिक विकास गर्न सके मात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुने उनको भनाइ छ । उनले भनिन्– हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसंख्यकलाई आर्थिक रुपमा सवल बनाउने हो ।
छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरेको बताइन् ।
गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्नेे प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुले सहभागिता जनाएका छन् ।