विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने : विश्वकर्मा

काठमाडौँ, मंसिर १७ । खेल संघमा देखा परेको विवाद चाँडै नै अन्त्य गर्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आइतबार आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमी कमजोरीबाट सिकेर सच्याउँदै अगाडि बढ्नुपर्ने धारणा राखे ।

खेलकूदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने भन्दै राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकूद संघमा रहेको विवाद हटाउन आवश्यकता रहेको बताए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने बृहत् राष्ट्रिय खेलकूदको आठौँ संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौँ राष्ट्रिय खेलकूद समयमा हुँदैन कि भन्नेमा आशङ्का नरहेको प्रस्ट पारे ।

सदस्य–सचिव विष्टले १३ आँै दक्षिण एशियाली खेलकूद गर्न नेपाल सक्षम छ भन्ने सन्देश प्रदान गर्ने उद्देश्यले सागको तयारी अगाडि बढाइरहेको जनाए ।

खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ वृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताएका छन् ।

सो अवसरमा राखेप तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८ औँ एशियाली खेलकूदको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आठौँ राष्ट्रिय खेलकूद–२०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकूदको हालसम्मको तयारी जानकारी गराएका थिए ।