वार्सा, १७ मंसिर । मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई अनुरोध गरेकी छिन् ।
आइतबार पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीले हरतरहले सहयोग गर्नुपर्नेमा जोड दिएकी हुन् ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली संघ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पुर्याउनुपर्ने बताइन् ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले परिवर्तित सन्दर्भमा नेपाललाई मनन गरी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । राजदूत रमेशप्रसाद खनालले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई अझै माथि पुर्याउनुपर्ने बताए ।
गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष डा बुद्धिराज सुवेदीले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा पोल्याण्डमा पहिलो पुस्ताका नेपाली प्रतिनिधि दुर्गा मास्केलगायत सयौंँको सहभागिता रहेको थियो । मास्के ५७ वर्षअघि विद्युत् इञ्जिनीयरिङ पढ्न छात्रवृत्तिमा वार्सा आएका हुन् ।
कार्यक्रममा नेपाली सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो । पोल्याण्डमा विभिन्न पेशा–व्यवसाय गरी करीब नौ हजार नेपाली रहेको गैरआवासीय संघका प्रतिनिधिले जानकारी दिएका छन् । तीमध्ये धेरै कम्पनी, केही भान्सा र बाँकी विभिन्न काममा छन् ।