ओखलढुंगाको पर्यटकीय विकासका लागि समिति गठन

ओखलढुंगा, मंसिर १७ । ओखलढुंगाको पर्यटन बिकासमा टेवा पुर्याउनका लागि समिति गठन गरिएको छ । ओखलढुंगा जिल्लाको समग्र पर्यटन बिकासका लागि “ओखलढुंगा पर्यटन बिकास समिति” नामक सामाजिक संस्था स्थापना गरिएको हो ।

जिल्लामा विभिन्न किसिमका पर्यटनको सम्भावना भएको भए पनि प्रचार–प्रसार नहुँदा पछि परेको भन्दै जिल्लाबासी पर्यटन ब्यबसायी सहितको टिमले पर्यटन सामाजिक संस्थाको परिकल्पना गरि बृहत संस्था निर्माण गरेका हुन् ।

ओखलढुंगा जिल्लामा रहेका प्राकृतिक पर्यटकीय स्थललाई मात्र प्रचार गर्न सके पनि समग्र जिल्लाको आर्थिक बिकास हुने ओखलढुंगाका पर्यटन व्यबसायीहरुले बताएका छन् । यसै बिषयलाई मध्यनजर गर्दै समिति गठन गरिएको संस्थाका सदस्यहरुको भनाइ छ ।

ओखलढुंगा पर्यटन बिकास समितिले आफ्नो पहिलो साधारण सभा पनि सम्पन्न गरेको छ । साधारण सभाबाट पर्यटन ब्यबसायी, समाजसेवी, ङावा ङीमा शेर्पाको नेतृत्वमा १४ सदस्यीय समिति निर्माण गरि काम अगाडि बढाएको छ ।

सो समितिको प्रथम उपाधक्ष्यमा– ककङ्ग्डा शेर्पा, अर्को उपाधक्ष्यमा– तेण्डि शेर्पा, महासचिब– लिला श्रेष्ठ,सचिब– पासाङ्ग शेर्पा, कोषाधक्ष्य– कुङ्गा शेर्पा, सह– कोषाधक्ष्य– फुर्वा शेर्पा, सदस्यहरुमा– ओम सुबेदी, कमलकृष्ण तामाङ्ग, गोपाल सेन्चुरी, भिमराज सुनुवार, सुजन राई ‘रोकेमी’, छेपाल शेर्पा, आङ्कामि शेर्पा छन् ।

उक्त संस्थाले आगामी चैत्रमा सोलुखुम्बुको पिके बाट ओखलढुंगाको देम्बा हिल हुँदै खिजीफलाटे सम्म २४ किलोमिटर लामो म्याराथुन दौडको आयोजना गर्ने भएको छ । त्यसैगरी ओखलढुंगा जिल्लाको पर्यटन बिकासका लागि आगामी पौषमा जिल्ला स्तरिय बृहत बिचार गोष्ठीको पनि आयोजना गर्ने संस्थाले बताएको छ ।

यता ओखलढुंगाका सबै गाउँपालिका, नगरपालिकामा शाखा कमिटि बिस्तार गर्ने पनि सस्थाका अधक्ष्य ङावा ङीमा शेर्पाले जनाएका छन् ।

त्यसैगरी ओखलढुंगाको समग्र पर्यटन बिकासका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटकीय चेतनामुलक कार्यक्रम गर्ने पनि संस्थाले जानकारी गराएको छ । सरकारले जिल्लाका पोकली झरना र देम्बा डाडालाई देशका सय पर्यटकीय गन्तब्य मध्यको २ गन्तब्यमा छानेको अवसरमा विभिन्न सम्भाव्यता खोजि गर्ने पनि बताएको छ ।

संस्थाले आर्थिक मेरुदण्डको रुपमा रहेको समग्र पर्यटन बिकासका लागि सबैलाई आ–आफ्नो स्तरबाट लागि पर्न अनुरोध गरेको छ ।

साभार–मूलखबर अनलाइन