उदयपुर, मंसिर १८ । नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो संघीयता आफ्नै मौलिक प्रकारको रहेको सभामुख कृष्णबहादुर महराले बताए ।
उदयपुरको गाईघाटमा आज आयोजित संविधान, संघीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संघीयता अन्य देशको भन्दा नितान्त फरक रहेको र आफ्नै देशको परिवेशमा आधारित रहेको बताए ।
सभामुख महराले जनप्रतिनिधिले संघीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक संघीयता स्वीकार गर्नपर्ने आवश्यकता औंल्याए ।
उनले राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेको मात्र आफूहरुको अधिकार हो भनेर बुझ्नुपर्ने उपस्थित जनप्रतिनिधिहरुसमक्ष अनुरोध गरे ।
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान संघीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गरेको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले जानकारी गराए ।
जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।