एपिएफद्वारा एनआरटी २–१ गोलअन्तरले पराजित

काठमाडौँ, मंसिर १८ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले हराएको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफ सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा पुगेको छ ।

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे ।

युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । खेल शुरुवातीको पाँचांै मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाएका थिए ।

उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ आँै मिनेटमा सुदिपले एक गोल थप गर्दै एपिएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछिका सबै खेलमा हार बेहोदएक अङ्कका साथ लिगको पुछारमा छ ।

अङ्क तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अङ्कसाथ दोस्रो तथा १२ अङ्क जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा रहेको छ ।