काठमाडौँ, मंसिर १८ । कन्काई नगरपालिकामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले नमुनामा रुपमा पहिलो पटक पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ ।
नास्टले तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नगरपालिकामा यो प्रविधिको शुरुवात गर्न लागिएको हो । नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने जनाए ।
यहाँ पेट्रोल उत्पादन शुरु भएपछि फोहर व्यवस्थापनका लागि अरु नगरपालिका पनि यसमा आकर्षित हुन सक्ने उनको भनाइ छ ।
उक्त कामका लागि नगरपालिका आफैँले उपकरण खरीद गर्ने भन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ । स्थानीय सरकार आफैँले व्यवसाय गर्दा असफल भएकाले हामीले ठेक्का सम्झौतामा जान भनेका हौँ– प्रमुुख ढकालले भने ।
देशभरमा पुराना नगरपालिकाका लागि मात्रै नभएर थपिएका नयाँ नगरपालिकाका लागिसमेत फोहर व्यवस्थापन समस्याको विषयका रुपमा रहेको छ । विभिन्न अध्ययनले फोहरमा पोलिथिनको मात्रा सबैभन्दा बढी र सबैभन्दा गाह्रो रहेको देखिएको छ ।