ललितपुर, मंसिर १८ । ललितपुर महानगरपालिकाले पहिलो पटक तीन स्थानमा ट्राफिक बत्ती जडान गरेको छ । यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा महानगरपालिकाले कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती जडान गरेको हो ।
कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरिएको महानगरले बताएको छ ।
महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।
आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । यस्तो खालको कामलाई महानगरले निरन्तरता दिँदै जाने उनले जनाएका छन् ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिनहुँ वृद्धि हुँदै गएको सवारी चापको व्यवस्थापनमा बत्तीले मद्दत पुर्याउने बताए । ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको योजना रहेको उनको भनाइ छ ।
सडक बत्ती राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको उनले जनाएका छन् । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरपालिकाले पुल्चोकदेखि कुपण्डोलसम्म विभिन्न स्थानमा ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ ।