स्थानीय तहलाई समृद्ध बनाउन सके समृद्ध राष्ट्र निर्माण सम्भव

काठमाडौँ, मंसिर २० । सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसके समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा हुन नसक्ने बताइएको छ ।

बुधबार विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासघद्वारा आयोजित स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा बोल्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले समग्र देश विकासका लागि सबै स्थानीय तहले एक भएर लाग्नुपर्ने बताए ।

सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रित भएको भन्दै उनले सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रित हुनुपर्ने वरिष्ठ पत्रकार मोहन मैनालीको भनाइ छ ।

अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबाहदुर थापाले देश विकासको मुख्य खम्बा विद्यालयको स्तर उन्नतिमा वृद्धि र सबै जनतामा स्वास्थ्यको पहुँच हुने हो भने विकासको गति अगाडि बढ्ने सुझाएका छन् ।

कार्यक्रममा सहभागीले विकासको काम गर्दा जनताको सहभागितामा गरिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको गरेर अगाडि बढ्नुपर्ने, सुशासन र विकासलाइ आत्मसात् गरिनुपर्ने विचार राखेका थिए ।