पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न नेपाल प्रेस युनियनको माग

काठमाडौं, साउन ८ । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पूर्व उपाध्यक्ष छक्क बहादुर मल्लमाथि प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रणमा लिएको भनी नेपाल प्रेस युनियनले दुःख व्यक्त गरेको छ ।

राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले)का कार्यकर्ताबाट उनीमाथि भएको आक्रमणप्रति युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । आक्रमणमा घाइते भएका पत्रकार मल्लको उपचारको लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय प्रहरी प्रशासनसँग माग गर्दै उनी विरुद्ध लगाइएको झुटा मुद्धा खारेज गर्नको लागि नेपाल प्रेस युनियनले माग गरेको छ ।

तीन साता अघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देवेन्द्र नाथमाथि भएको घटनाका दोषीलाई कारवाही हुन नपाउँदै पत्रकार मल्ललाई आक्रमण गरि ज्यान लिने प्रयास हुनु र उनलाई झुटो आरोप लगाई नियन्त्रणमा लिने कार्य राजनीतिक आवरणमा सत्यको मुख थुन्ने प्रयास भएको युनियनको दावी छ ।

समाचार संकलनका क्रममा पत्रकार मल्लमाथि अघिल्लो दिनमा हातपात भएको भनि उजुरी दर्ता गराए पश्चात उक्त मुद्धालाई उल्ट्याउनका लागि योजनाबद्ध तरिकाले एमालेका कार्यकर्ता लागि उनलाई फसाइएको स्थानीय एक नेताले बताए ।

राष्ट्रको चौथो अंग पत्रकारमाथि दुव्र्यवहार हुनु र आस्थाकै आधारमा उसलाई सुनियोजित रुपमा फसाउनु दुखद् कुरा रहेको बताउँदै सरकारले यस प्रति तत्काल कदम चाल्न नेपाल प्रेस युनियन लगायत जिल्लाका नेता तथा कार्यकर्ताको जोडदार माग छ ।