काठमाडौँ, मंसिर २० । विद्यार्थीका पोशाकमा एकरुपता ल्याउनका लागि काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।
विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको जनाएका छन् ।
उनले भने– विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ । एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुने भएपनि विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन/चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघ संगठन र अभिभावकसँग छलफल, अन्तक्र्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्नेछ । यसैगरी महानगरले विद्यालयको बिदामासमेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने जनाएको छ ।
आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन शुरु गरिएको शिक्षा अधिकारी कोइरालाले जनाए ।
महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।