लिस्बन, मंसिर २१ । युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने हेतुले पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो ।
सो महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनले सहभागिता जनाएका थिए । विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक योगी श्रीओम सूर्य शिवले जानकारी गराए ।
महायज्ञ सम्पन्न गर्नका लागि २६०० युरो अर्थात् रु तीन लाख २५ हजारभन्दा बढी खर्च भएको उनले बताए । अपेक्षा गरे अनुरुप रकम सङ्कलन नभए पनि पोर्चुगल र नेपालमा मन्दिरसहितको आश्रम बनाउने योजना रहेको उनको भनाइ छ ।
‘द ट्रथ लभ अफ लिभिङ फाउण्डेशन’को आयोजनामा भएको महायज्ञमा प्रमुख वाचक शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवतका साथै सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता र आत्मज्ञानबारे प्रवचन दिएका थिए ।
अघिल्लो बिहीबारबाट थालिएको सो महायज्ञमा सात दिनसम्म दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।