काठमाडौँ, मङ्सिर २१ । अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले, मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।
अर्थमन्त्री डा खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सरकारका कमीकमजोरी भए पत्रकारिताले उजागर गरिदिपर्ने उनको ठहर छ । पत्रकारिता प्रतिपक्षी दल जस्तो नभएर आफ्नो पेशाप्रति मर्यादित हुनुपर्ने बताउदै उनले भने सञ्चारमाध्यमले आफ्नो स्वायत्ततातर्फ विशेष ध्यान दिनुपर्छ । अर्थमन्त्री डा खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको स्पष्ट पारे ।
व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उनले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे । महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टङ्कमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशन गर्न आर्थिक पत्रकारलाई सुझाव दिएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको बताए ।