आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, मंसिर २३ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस दिवसको अवसरमा कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागीता जनाएका छन् ।

कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागीता रहेको छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।

नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।

भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउँदै आइएको भए पनि भ्रष्टाचारको अन्त्य हुन सकेको छैन ।

नेपालमा भ्रष्टाचारका अनेकौं रुपहरु देखिँदै आएका छन् । विभिन्न अध्ययनले सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको देखाएका छन् ।

नेपालको संवैधानिक व्यवस्था अनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून अनुसार अनुसन्धान गर्न वा गराउन सक्छ ।