काठमाडौं, मंसिर २६ । जाडो महिना शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभरमा चिसो निकै बढेको छ । जाडो बढेसँगै केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा तल रहेको छ ।
काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । शनिबारको तुलनामा तापक्रम केही बढे पनि खासै सुधार भने आएको छैन ।
सबैभन्दा धेरै चिसो जुम्लामा भएको छ । यहाँको तापक्रम माइनस ४ डिग्रीमा झरेको महाशाखाले बताएको छ । जाडो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ भने जुम्लापछिको चिसो जोमसोममा छ ।
पूर्वानुमान महाशाखाका अनुसार, यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री छ । दिउँसोको समयमा अधिकतम ८ डिग्रीसम्म पुग्ने गरेको छ । जिरीको न्यूनतम तापक्रम माइनस ०.५ र अधिकतम १५ डिग्री सेन्टिग्रेडको वरिपरि रहेको छ ।
त्यसैगरी डडेल्धुरा र दीपायलमा पनि केही दिनदेखि चिसो बढेको छ । यहाँको न्यूनतम तापक्रम क्रमशः ३.३ देखि ४.५ सम्म मापन भएको छ ।
देशभर चिसो बढिरहँदा धरान, विराटनगर, नेपालगञ्ज र सिमरामा भने केही परिवर्तन आएको छैन । धरानको अहिले बिहानको मौसम १५ डिग्री सेन्टिग्रेड छ ।
दिउँसो घाम लाग्ने भएकाले अधिकतम २८ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ । नेपालगञ्ज, विराटनगर र सिमराको न्यूनतम तापक्रम केही दिनदेखि १० र अधिकतम २०–२८ को वरिपरि रहेको छ ।