भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको छ : मन्त्री अर्याल

बर्दिवास, मङ्सिर २७ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताएकी छिन् । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको बताइन् ।

महोत्तरी जिल्लाका बर्दिवास र भङ्गाहा एवम् धनुषा जिल्लाको मिथिला नगरपालिकाका अव्यवस्थित बसोबासीका तर्फबाट समस्या समाधानका लागि स्मरणपत्र ग्रहण गर्दै मन्त्री अर्यालले यो वर्षभित्र कानून र नीतिनिर्माणका काम सकेर परिणाममुखी काम थालिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

सामान्यतया आयोग प्रतिवेदनमुखी बन्दै आएको उनले बताइन् । आफ्नो जिम्माको मन्त्रालयका विगतका कामबारे प्रस्ट्याउँदै अर्यालले भनिन्, अब ठाउँमा पुगेर अव्यवस्थित बसोबासको समुचित सम्बोधनका लागि जग्गाधनी प्रमाण दिने आयोग बनाइनेछ ।

पर्तिऐलानी जग्गाको अव्यवस्थित बसोबास, मोहीको द्वैध स्वामित्व अन्त्य गर्ने र गुठी जग्गा व्यवस्थापन गर्दै वैज्ञानिक भूमि व्यवस्था नीति अख्तियार गर्नु अहिलेको आवश्यकता रहेको मन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभाका सांसद जुली महासेठ (महतो) महोत्तरी र धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले यस भेगका भूमिसम्बन्धी समस्याबारे मन्त्री अर्याललाई जानकारी गराए ।