महिला साफ च्याम्पियनसिप खेल फागुन २८ देखि चैत ८ सम्म

काठमाडौँ, मङ्सिर २८ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचाै‍ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल खेल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्ने भएको छ । नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्ने भएको छ भने दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुने एन्फाले जानकारी गराएको छ । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी समेत शुरु गरिसकेको छ ।

प्रतियोगिता आउन तीन महीना बाँकी छँदै एन्फाले महिला टोलीको तयारी अघि बढाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । दक्षिण एशियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको वर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ ।