नेपाली कांग्रेसले महासमिति सदस्यको नाम दर्ता एवम् स्वागत पाँच बजेसम्म गर्ने

काठमाडौँ, मङ्सिर २८ । नेपाली कांग्रेसले पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौं आइपुगि सकेका छन् । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज पाँच बजेसम्म नाम दर्ता एवम् स्वागत गरिने कांग्रेसले जानकारी गराएको छ । महासमिति बैठक आजबाट आगामी पुस तीन गतेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधी, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी करीव एक हजार ६०० प्रतिनिधि सहभागी हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । सहभागी प्रतिनिधिलाई आजै कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिने छ ।

जसका लागि सहमति जुटाउन कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । महासमिति बैठक उद्घाटन भोलि मंसीर २९ गते बिहान ११ बजे यगम्बर पार्टी प्यालेसमा हुने भएको छ । उद्घाटन लगत्तै बन्दसत्र शुरु हुने कांग्रेसले जानकारी गराएको छ । बैठकको उद्घाटन पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने उद्घाटनपछि प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुने छन् ।

महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्ने छिन् ।

राजनीतिक प्रस्तावमा मुलुकको समसामयिक राजनीतिको विश्लेषणसहित पार्टीको आगामी राजनीतिक विचार र दृष्टिकोण,साङ्गठिनक प्रस्तावमा पार्टीका समग्र गतिविधि,विधान संशोधनमा संघीय संरचनाअनुसार पार्टीका संरचना,आर्थिक प्रस्तावमा बदलिदो परिवेशमा पार्टीको आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदनमा पार्टीको आयव्ययबारेमा उल्लेख छ ।

उक्त प्रतिवेदनलाई विस्तृत रुपमा छलफल गर्न महासमिती सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले जानकारी गराए । त्यसपछि पुस एक, दुई र तीन गते बिहान आठ देखि बेलुकी पाँच बजेसम्म बन्द सत्र चल्नेछ । महासमिति बैठक आयोजना गर्न करीब एक करोड खर्च हुने अनुमान गरिएको छ ।