काठमाडौँ, मंसिर २८ । आधुनिक कृषि बजार बनाउन जग्गा उपलब्ध गराइदिन गैर आवासीय नेपाली संघले सरकारसँग अनुरोध गरेको छ ।
आज कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालसँग संघका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेर उक्त अनुरोध गरेका हुन् । संघले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।
त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनी भन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि भाडामा उपलब्ध गराउन मन्त्री खनालसँग अनुरोध गरेका हुन् । संघका कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले रु एक अर्ब पचास करोड लगानी गर्ने गरी सात जनाको विज्ञ समूहले आर्थिक प्रतिवेदन तयार गरिरहेको जनाएका छन् ।
कृषि उपज सङ्कलनका लागि प्रदेश नं १ सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलक नभइ सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको सो कामले किसानलाई ठूलो राहत पुग्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात कम गर्दै आत्मनिर्भरताका लागि सहयोग हुने संघका उपाध्यक्ष आचार्यले बताएका छन् ।
संघले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहने छ । प्रस्ताव उपयुक्त रहेको भन्दै मन्त्री खनालले प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने बताए । संघलाई सजिलो हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाइ थियो ।
काठमाडौँमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले बताए ।
कृषि मन्त्रालयले पनि काठमाडौँ उपत्यका प्रवेश गर्ने पाँच नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । त्यसमा किसानलाई समेत निश्चित प्रतिशतमा अनुदान दिइनेछ ।
काठमाडौँमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने तयारीमा सरकार रहेको छ ।
काठमाडौँको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त रहेके भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जनाएका छन् । त्यसमध्ये दुई सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सार्न सकिन उनले बताए ।