काठमाडौं । विपी स्मृति दिवसको अवसर पारेर माननीय डा. आराजु राणा देउवाको प्रमुख आतिथ्यमा नेपाल बिद्यार्थी संघकी सह–महामन्त्री महेश्वरी कुवर द्वारा लिखित पुस्तक वाल्वा हुँदै पाल्पाको विमोचन गरिएको छ ।
प्रमुख अतिथि माननीय आरजु राणा लगायत अन्य अतिथिहरुको उपस्थितिमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा राणाले बामे सर्दै गरेको नेपाली महिलाहरुको राजनैतिक उपस्थिति सहज नभएको बताउँदै अनेकौ संघर्ष पछि मात्रै महिलाको राजनैतिक जीवन सफल हुने कुरा बताएकी छिन् र लेखिकाको पुस्तक सबैलाई पढिदिन पनि उनले अनुरोध गरेकी छिन् । पुस्तक भित्र समेटिएका विषयवस्तुले पाल्पा जिल्लाको पहिचान समेटिएको बताउँदै नेपालमा छाउपडी प्रथा सामाजिक समस्या रहेको भन्दै यो समस्या हटाउन युवा बिद्यार्थी र पढेलेखेका युवाहरु नै लाग्नु पर्ने राणाले बताइन् ।
नेपालमा मात्र नभएर विश्व भरि नै महिलालाई विभिन्न अवसरबाट बञ्चित गराउनुका साथै हतोत्साहित गरिने कुरा उल्लेख गर्दै महिला आफै शसक्त भएर अगाडि बढ्न डा. आरजु राणाले आग्रह पनि गरिन् । उक्त कार्यक्रममा नेपाल विधार्थी संघका विधार्थी नेतादेखि लिएर विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत पाँच जना व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा समिक्षक प्रेम कँडेल र रविन्द्र बस्नेतले पुस्तकको समिक्षा गर्दै महेश्वरी कुँवरको लेखन क्षमताको प्रशंसा गरे । पुस्तक विमोचन समारोहमा शुभकामना दिने अधिकांश वक्ताहरुले महेश्वरी कँुवर नेपाल विधार्थी संघकी सह–महामन्त्री नभई आफुलाई लेखकको रुपमा स्थापित गराउन सफल भएको कुरा पनि बताएका थिए । वाल्वा हुँदै पाल्पा नामक पुस्तकमा लेखिकाले पाल्पा जिल्लाको विशेषता, पहिचान बोकेका ठाउँ, धर्म,कला, संस्कृतिहरुको बारेमा बर्णन गरिएको छ ।
पाल्पा जिल्लालाई पर्यटकीय दृष्टिकोणबाट मानिसलाई आकर्षण गर्ने कुरा उक्त पुस्तकमा उल्लेख गरिएको छ । पाल्पामा उत्पादन हुने विभिन्न बस्तुहरुको परिचय पनि यस पुस्तकमा समावेश गरिएको छ । बिधार्थी नेतृ कुँवरले पाल्पामा पर्यटकहरुको उपस्थिति होस र प्रकृतिको अनुपम बरदान पाएको पाल्पा जिल्लाको समृद्धिको लागि पनि यो पुस्तक लेखेको कुरा कुँवरले बताएकी छिन् । लेखिकाले उक्त पुस्तक विक्रीबाट संकलित रकमलाई सामाजिक सेवामा प्रदान गर्ने प्रतिवद्धता गरेकी छिन् । पुस्तकको मुल्य रु २०० राखिएको छ ।