नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र बिहानबाट शुरु

काठमाडौँ, पुस १ । नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ ।

बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् ।

पेश गरेका उक्त तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी नै रहेको बताइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जानकारी गराइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहेको छ । सो बैठक पुस ३ गते मंगलबार सकिने बताइएको छ । उक्त बैठक मङ्सिर २९ गते शुरु भएको हो ।