सरकार र श्रमिक एक भएर लाग्नुपर्ने : मन्त्री थापा

काठमाडौँ, पुस १ । जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बताएकी छिन् ।

स्वतन्त्रता अभियान नेपालद्वारा आज आयोजित अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै उनले यस क्षेत्रमा हुने समस्या सुल्झाउन सरकाले धेरै ऐन कानून बनाइसकेको बताइन् ।

मन्त्री थापाले निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या सुल्झिने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा जोड दिइन् ।

उनले मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या सुल्झाउनका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी स्थानीय तहले संयन्त्र गठन गरी अघि बढ्पर्ने सुझाव दिएकी छिन् ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सबैसँग मनोरञ्जन र सत्कार क्षेत्रमा काम गर्न बौद्धिक क्षमता नहुने भन्दै, सकारात्मक रूपमा प्रस्तुत गरिने सबैको क्षमतालाई राष्ट्र र समाजले सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

आयोजक संस्थाका कार्यक्रम प्रमुख रीतु भट्टराईले काठमाडौँ उपत्यकामा मात्रै एक लाख महिलाले मनोरञ्जन र सत्कारको क्षेत्रमा काम गर्ने गरेको जनाइन् ।

नेपालका कूल श्रमिकमध्ये ७८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको पनि भट्टराईले बताइन् । दोहोरी साँझमा काम गर्ने रीता लिम्बूले परिचयपत्र नभएकाले सरकारले श्रमिकका लागि तोकेको पैसा नपाएको गुनासो गरिन् ।

लिम्बूले आफ्नो कामलाई मर्यादित पेशाको रूपमा लिन सबैसँग अनुरोध गर्दै सरकारले तोके अनुरुप पारिश्रमक श्रमिकले पाएका छन् कि छैनन् भनी नियमित अनुगमन गर्नुपर्नेमा बताइन् ।