समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने : अध्यक्ष दाहाल

पाल्पा, पुस १ । मुलुक शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गदै उनले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले उक्त माविमा आङ्गिक कृषि कलेज स्थापना गर्नका लागि मद्दत गर्ने बताए । अध्यक्ष प्रचण्डले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएकाले आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल बनाउनका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए ।

उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको जनाउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए । देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ छ । रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उनले बताए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताएका छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जनाएका थिए ।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् ।