काठमाडौँ, पुस २ । नेपालमा आज मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले आज मौसम बदली भएको हो । महाशाखाले एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावले गर्दा नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको जनाएको हो ।
साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एक र दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना रहेको छ । चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह तिर ल्याण्डफल हुने महाशाखको भनाइ छ ।
समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ ।
उपत्यकाको आकाशमा आज बदली रहेका कारण चिसो वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले चिसो क्रमशः वृद्धि हुँदै गइरहेको छ ।
हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा पुगेको हो ।
न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस छ ।