जथाभावी प्रेस लेखेर प्रेसजगतको बदनाम गराउनेलाई कारवाही गरिने

लहान, पुस २ । जथाभावी रुपमा प्रेस लेख्नेलाई नेपाल पत्रकार महासंघ सिरहाले कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतको बदनाम गराउने कार्य गर्नेलाई कारवाही गर्ने भएको हो ।

केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले बताए ।

शाखाका सभापति गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सिरहामा रहेको महासंघको भवनलाई व्यवस्थित बनाउँदै लहानको लागि नयाँ भवन निर्माण गर्न समिति गठन, निष्क्रिय पत्रकारलाई स–सम्मान बिदाइ तथा सक्रिय पत्रकारलाई सदस्यता र नवीकरण गर्ने निर्णय पनि गरेको बताएको छ ।

यसैगरी विभिन्न क्षेत्रका स्रष्टालाई महासंघले वार्षिक रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारको क्षमता वृद्धि गराउनका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने र महासंघको कामकाजलाई व्यवस्थित गर्न एक कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरिएको अध्यक्ष गुप्ताले बताए ।