करीब साढे छ किलोमिटरसम्म सडक सौर्य बत्ती जडान, २० हजार लाभान्वित

वीरगञ्ज, पुस २ । जनताका प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणको कामलाई स्थानीय सरकारले तीव्र रुपमा अगाडि बढाउन शुरु गरेको छ ।

अन्धकारमय रहेको पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न शुरु भएपछि त्यहाँका जनताले चैनको सास फेर्न थालेका छन् ।

यसै क्रममा पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे छ किलोमिटरसम्म स्ट्रिटसोलार लाइट (सडक सौर्य बत्ती)जडान गरेपछि त्यस भेगका करीब २० हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ को योजना अन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मलमैया हुँदै मिर्जापुरसम्म करीब साढे छ किलोमिटर स्ट्रिटसोलार लाइट जडान गर्ने लक्ष्य लिएकोमा पहिलो चरणमा ४० लाइट जोडिएको छ ।

प्रतिलाइट रु एक लाख पाँच हजार ३०० का दरले हाल रु ४२ लाख १२ हजार लागतमा ४० लाइट जडान गरिएको छ । छिपहरमाई गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने बाँकी ४० लाइट दोस्रो चरणको कार्यक्रम अन्तर्गत जडान गरिनेछ ।

भिस्वा बजारबाट पश्चिमी पर्साको भारतीय सीमासँग जोडिएको गाउँसम्म मानिसलाई रातको समयमा आवतजावत गर्न अप्ठ्यारो हुँदा लाइट जडान भएपछि राति अबेरसम्म मानिस सुरक्षित हिँडडुल गर्न सजिलो भएको वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद कानुले बताए ।