इपिएलको अन्तिम खेलमा विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौँ, पुस २ । एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने सो खेलमा प्ले अफमा स्थान बनाउन विराटनगरलाई जित्नैपर्ने दबाब छ । काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले हार बेहोरेको थियो ।

यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो ।

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा पछि पारेको थियो ।

तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।