‘नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न सहज नभएपनि असम्भव पनि छैन’

कैलाली, पुस २ । नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणाली अन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले नेपालजस्तो देशका निमित्त संघीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुने पार्टीको मान्यता रहेको प्रस्ट पारे ।

२०६२/६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता काम भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति थपेकाले यसको सुधारका लागि सबै लागिपर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष थापाले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्नका लागि सजिलो नभएपनि असम्भव पनि नभएको बताए ।

अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति संगठन निर्माण, जनपरिचालन सम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसंघर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको जनाए ।