कुखुराको उचित मूल्य पाउन नसक्दा कुखुरापालक किसान आन्दोलित

बनियानी, पुस ३ । कुखुराको चल्ला र दानाको मूल्य वृद्धि भएपछि झापाका कुखुरापालक किसान आन्दोलनमा उत्रिएका छन् । आफूहरूले उत्पादन गरेको कुखुराको उचित मूल्य पाउन नसकेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

समस्या सुल्झाउनका लागि विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नहुँदा आफुहरु बाध्य भएर आन्दोलित हुनुपरेको नेपाल कुखुरापालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको भनाइ छ ।

उनले भने– पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ । समस्या समाधान नभएसम्म आन्दोलन स्वरूप किसानले खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उनले जनाएका छन् ।

नेपाल कुखुरापालक संघ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको संघका झापा सचिव डिल्ली उप्रेतीले बताए । जिल्लाभरका कुखुरापालक किसानले पुस १ गतेदेखि खोरमा चल्ला नहाल्ने निर्णय गरेको उनको भनाइ छ ।

उनले भने– किसानको समस्या सम्बोधन भएसम्म आन्दोलन जारी रहने छ । केही समय अगाडि प्रतिबोरा (५० केजी) दानामा रू ५० वृद्धि गरिएको र त्यस लगत्तै रू ७५ ले पुनः वृद्धि गरिएको सचिव उप्रेतीले बताए ।

गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको भन्दै उनले यसबाट किसान मारमा परेका छन्, त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५ र ३० ग्रामको मात्र हुन्छ उनले भने ।

किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी रू १६५ लाग्ने गरेको संघका सदस्य रमेश भट्टराईले बताए । अहिले किसान प्रतिकेजी १६५ र १७० रुपैयाँमा कुखुरा बेच्न बाध्य भएको उनले जनाएका छन् ।

बजारमा २८० र ३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ उनले भने । पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प नहुने बताउँदै उनले किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेको बताएका छन् । अहिले किसानको खोरमा ५० देखि ९० दिनसम्मका ७ केजीसम्मका कुखुरा रहेको उनले बताए ।

सीमावर्ती क्षेत्रका केही कुखुरापालक किसानले समेत भारतीय खुकुरा ल्याएर खोरमा हाल्ने र बेच्ने गरेको भट्टराईले बताए । सीमा क्षेत्रका केही कुखुरापालक किसानले भारतीय कुखुरा ल्याएर हाल्ने र बेच्ने गर्नुभएको छ, उनले भने यस्ता कारणले पनि नेपाली कुखुरापालक मारमा परेका छन् ।

झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको संघको दावी छ ।

सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै संघले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षणसमेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ ।

आफ्नो समस्या सुल्झाउनका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको सदस्य भट्टराईले बताए ।

कुखुरापालक संघ झापामा ५५० किसान (सरकारी कार्यालयमा दर्ताका फर्म) आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको संघले जानकारी गराएको छ ।

कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको संघले बताएको छ ।

त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको संघले जानकारी गराएको छ ।