काठमाडौँ, पुस ३ । नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिले विषयगत चार उपसमिति गठन गरेको छ ।
सोमबार बसेको विद्यायन व्यवस्थापन समितिको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिका सभापति पशुराम मेघी गुरुङले समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको बताएका छन् ।
सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा शिक्षासम्बन्धी उपसमिति, वृशेषचन्द्र लालको संयोजकत्वमा यातायातसम्बन्धी उपसमिति र सांसद शेरबहादुर कुँवरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण उपसमिति रहेको छ ।
तीन महीनाभित्र ती चार उपसमितिले अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ । उक्त प्रतिवेदन संसद्मासमेत प्रस्तुत गरिने सभापति गुरुङले जनाएका छन् ।