काठमाडौँ, पुस ५ । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु हुनेछ ।
दुई टोलीबीचको विजेता फाइनलमा प्रवेश गर्नेछन् । आजको विजेताले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियससँग प्रतिस्पर्धा गर्नेछ ।
ललितपुर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराएर फाइनल प्रवेश गरेको हो ।
ललितपुरसँग पराजित भए पनि काठमाडौँले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका प्राप्त गरेको हो ।