कांग्रेसको विधान मस्यौदामा पदाधिकारी चयन प्रक्रियामा सहमति

काठमाडौँ, पुस ६ । लामो समयको प्रयासपछि नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति जुटेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएकोे जनाएका छन् ।

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति जुटेको उनले बताए । शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिने प्रवक्ताले शर्माको भनाइ छ ।

केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । कांग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी रहेको छ । यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षको आ–आफ्नै अडानका कारण विधानमा सहमति हुन सकेको थिएन ।

महासमिति बैठक शुरु भएको एकहप्ता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन । कांग्रेसले संविधानको संघीय व्यवस्था अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समितिले तयार गरेको प्रतिवेदनमा यसअघि गत मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो । यसअघि विधान मस्यौदामा सहमति हुन नसक्दा मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारित महासमिति बैठक पनि लम्बिएको छ ।

महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको प्रवक्ता शर्माले बताए । महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन÷चार दिन लम्बिन सक्ने उनको भनाइ छ ।

महासमिति सदस्यले बैठकमा यसअघि नै पेश भइसकेका पार्टीको राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदनमाथि आफ्ना विचा। राख्ने क्रम भने जारी नै छ ।

कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था गरिएको छ ।