विराटनगर, पुुुस ६ । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
मोरङ व्यापार संघ विराटनगरले आयोजना गरेको व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने घोषणा गरेका हुन् ।
निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै उनले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य शुरु भइसकेको बताएका छन् ।
विराट ट्रेड एक्स्पोले यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउन थप टेवा दिने बताउँदै मुख्यमन्त्री राईले व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जनाए ।
मुख्यमन्त्री राईले व्यापार मेलाले यस प्रदेशमा कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा मिल्ने विचार व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए ।
राजनीतिक क्रान्तिपछि अब नैतिक क्रान्तिको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बताएका छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग र व्यापारका क्षेत्रमा लागेका मानिसलाई हौसला प्रदान गर्न सरकारी कामकाज सरल हुनुपर्ने बताए ।
मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योगी मोति दुगडले पनि विराट एक्स्पोको महत्वको बारेमा बताएका थिए ।
प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजीकै पुस ६ देखि १४ गतेसम्म लाग्ने उक्त मेलामा प्रत्यक्ष रुपमा रु २० करोडको आर्थिक कारोवार हुने नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सदस्य ललित सिंकडाले बताए ।
मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बङ्गलादेशका ४२ गरी २५० वटा स्टल छन् । दैनिक उपभोग्य सामग्री, मेशिनरी पार्टपुर्जा, गाडी, तयार पोशाक, छालाका सामान, हस्तकला वस्तु, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने छ ।