विकासलगायत अन्य कार्य मजबुतीका साथ अघि बढ्नुपर्ने : पूर्व राष्ट्रपति

धनुषा, पुस ८ । देश बनाउन सबै नेपाली एकजुट भएर अगाडि बढनुपर्ने आवश्यकता रहेको पूर्व राष्ट्रपति डा रामवरण यादवले बताएका छन् ।

शनिबारदेखि जनकपुरमा शुरु भएको नेपाल जेसिजको ४५आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा बोल्दै उनले देश संघीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्ने बताए ।

उनले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिले पनि यसबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।

समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पर्यटकले मात्रै प्रदेशको विकास सम्भव हुने भएकाले यसमा जोड दिनुपर्ने बताए ।

प्रदेश राजधानी जनकपुरमा शनिबारदेखि ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूलनाराका साथ नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा प्रारम्भ भएको छ ।

उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिजको सहभागीता रहने बताइएको छ । सो अधिवेशन पुस १० सम्म चल्ने छ ।