वि.पी., शेरबहादुर र लोकतन्त्र

राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

सर्वप्रथम राष्ट्रियता, समाजवाद र लोकतन्त्र वा प्रजातन्त्रका संस्थापक प्रबर्तक वि.पि. कोइरालाले २००३ सालमा नेपाल राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । २००५ सालमा सुवर्ण शम्सेर लगायतका टिमले नेपाली प्रजातन्त्र कांग्रेस स्थापना गरेको थियो । २००६ सालमा यी दुवै कांग्रेसको मर्ज भएर नेपाली कांग्रेस पार्टीको स्थापना भयो ।

सैद्धान्तिक रुपमा यसको संस्थापक प्रबर्तकको पगरी वि.पि. कोइरालाले नै हालसम्म गुथी रहेका छन् । उतिवेला सिद्धान्तलाई व्यवहारमा उतार्न राजनैतिक व्यवस्थाको कमजोरी थियो हाल आएर व्यवस्थाको सवलता छ तर सैद्धान्तिक दुर्वलताले अवसर पाएको छ । उतिवेलै वि.पि.ले प्रजातन्त्रको उदय पश्चात सुकिला मुकिला हावी होलान् सिद्धान्तलाई जनमुखी बनाउनका लागि पुनः एक पटक असल कार्यकर्ताले संघर्ष गर्नुपर्नेछ भन्ने आसयको भविष्यवाणी शाश्वत ठहर भएको छ । त्यसैले पार्टीभित्र सिद्धान्तका लागि हालका ने.का. समर्थक लगायत अन्य नेता र कार्यकर्ता सवल हुन जरुरी छ ।

नेपालको दलीय इतिहाँसमा सबै भन्दा पुरानो र हालको सबै भन्दा ठूलो पार्टीका रुपमा दर्ज भएको दल नेपाली काँगेस नै हो । सिङ्गो काँग्रेसको नाममा इतिहाँसका पानाहरु भरिएका छन् । जतिबेला जनताका खातिर बाल्नु र लेख्नु दुवै जघन्य अपराध मानिन्थ्यो । त्यति बेला समेत क्रान्तिको विगुल फुक्ने साहस गर्नु पनि प्रजातन्त्र र लोकतन्त्रकै खातिर गरिएको साहसिक कार्य हो ।

बि.सं.२००७ सालमा गरिएको क्रान्ति र प्रजातन्त्र प्राप्ती पाश्चात पनि जनताका पक्षमा केही कदम अगाडी बढ्न खोज्दा पुरानो परास्त सत्ताले भ्रम फैलाउने र असहयोग गर्ने प्रवृती कै कारण स्व. बि.पी. बाबुले संविधानसभाद्वारा जनताको संविधान निर्माण गर्ने काँग्रेस पार्टीको एक मात्र र प्रमुख एजेण्डालाई थाती नै राख्नु परेको थियो । त्यसका विभिन्न कारणहरु हुन सक्दछन् ति कारणहरु मध्यबाट अनुमान गर्न सकिने एक दुई कारणमा संविधानसभाको चुनाव गर्ने प्रक्रियामा नै धावा बोल्ने अवस्था श्रृजना भएर या त संविधानसभा स्वयंले संविधान निर्माण गर्न र त्यसको अक्षरस लागु गर्न नसकिने परिस्थिति निर्माण भएरै राजासँग मिलेर काम चलाउ संविधान निर्माण गरेको हुनु पर्दछ । जे सुकै भएता पनि वि.सं. २०१५ सालमा संसदीय चुनावबाट निर्माण भएको देशकै प्रथम जननिर्वाचित सरकार दुई बर्ष पनि चल्न नपाई त्यसमाथी धावा बोलिनाका कारण बाट नै अनुमान लगाउन सकिन्छ कि समय अनुकुल नभएकै कारण सम्झौता गरिएको रहेछ । त्यस्तै विशिष्ठ अवस्था आउन सक्ने देखेर नै वि.सं. २०१० सालमा नेपाल तरुण दल गठन गरिएको थियो होला । त्यस संगठन क्याडर वेश संगठन भएकै कारण मास कभर गर्न र शिक्षित युवाहरुलाई समेट्नकै लागी भनेर वि. सं. २०२७ सालमा नेपाल बिधार्थी संघको स्थापना वि.पी. बाबुको प्रत्यक्ष निगरानीमा भएको थियो ।

संयोजक विपीन कोईराला र बाँकी संस्थापक सदस्यहरुमा शेर बहादुर देउवा , स्व.निलमणी शर्मा पाठक , शिब बहादुर खड्का , रामचन्द्र पौडेल , देबेन्द्र नेपाली , रामशरण महत , अर्जुन नरसिंह के.सी. , लगायत बाँकी भुलचुक भएको भए लेखकको तर्फबाट माफी चाहन्छु । यिनै शिक्षित युवाहरुको योगदानले आजको सिंङ्गो पार्टी खडा भएको हो । सोही समयदेखि देउवाको भुमिकामा कुनै पनि कमजोरी देखाउने ठाँउ सायदै कम होला । तात्कालीन पञ्चायत सरकारले दिएको यातनाबाट समेत प्रताडित भएका देउवा नेपाल बिधार्थी संघको दाश्रो संयोजक पनि हुन । आज उनै देउवा देशको शिर्ष स्थानमा आशिन छन् । र पनि पार्टी भित्र हुन नसकी रहेको एैक्यबद्धता र एकले अर्कालाई नेता स्वीकार गर्न नसकी रहेको अवस्थामा गुट उपगुटको राजनैतिक कुसंस्कारका कारण हाल लोकतन्त्रवादीहरु कमजोर जस्ता देखिनु परिरहेको छ ।

ने.का को १३ औं अधिवेशनले देउवालाई सभापति चयन गरेको हो । कसैका निगाहले उनी सभापति बनेका पनि होईनन् । होनहार संघर्षबाट स्थापित नेता भएकै कारण आज उनलाई सबैले नै सघाउनु पर्ने अबस्था छ । अन्यथा देश र जनताले फेरी पनि लोकतन्त्रकै लागी संघर्ष गर्नु पर्ने दिन नआओस् । त्यसैले इतिहाँसमा लामो संघर्ष गरेको पार्टी र त्यसका सभापति माथी लाग्ने गरेका विभीन्न लाञ्छनाकै कारण देशमा प्रजातन्त्र झन् झन् कमजोर हुन सक्ने संभावना बढेकै कारण उनलाई सशक्त्त तुल्याएर मात्र लाकतान्त्रिक ब्यबस्था अझ सुदृढ हुन सक्दछ । उनका पनि मानवीय कमजोरीहरु होलान् । समय समयमा रचनात्मक सल्लाह सुझावद्वारा उनैलाई सकारात्मक दिशा तिर उन्मुख गराएर मात्र देशको उन्नती सम्भव छ । यतिमात्र नभएर काँग्रेसलाई असफल तुल्याउने पर्दा पछाडीका खेलहरुलाई समयमै हामीले चिर्न सक्नु पर्दछ । अन्यथा लोकतन्त्र नै धरापमा पर्न बेर लाग्दैन ।

निष्कर्षः
जति सुकै कमी कमजोरीका बाबजुद पनि सम्पूर्ण निर्वाचित केन्द्रीय समितिको टिम सहित सभापति देउवालाई सवल तुल्याउदै अगाडि बढ्ने प्रेरणा प्रदान गर्नु र हालको कम्युनिष्ट संजालको गोलमटोल शब्दजाल र सम्भावित कम्युनिष्ट एकताको आधारलाई मध्यनजर गरेर लोकतन्त्रवादीहरु सबल र एकताबद्ध हुनु जरुरी देखिन्छ । ३५ औं वि.पि. स्मृति दिवसको शुभकामना साथै श्रद्धेय जननेताप्रति हार्दिक श्रद्धासुमन । अस्तु !