उपराष्ट्रपति पुनद्वारा क्रिसमसको शुभकामना

काठमाडौँ, पुस १० । इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपालीहरुमा उपराष्ट्रपति नन्दबहादुर पुनले सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधताले भरिएको देश नेपाल धर्मनिरपेक्ष राष्ट्र रहेको भन्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि पाएका उपलब्धि रहेको बताएका छन् ।

हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण, सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ तर, कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न गराउन भने पाइँदैन– उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको भन्दै पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताइएको छ ।

सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई क्रिसमसडेले सुदृढ बनाउँदै प्रगतिको बाटोमा अगाडि बढ्नका लागि सबैलाई ऊर्जा मिलोस् भनी विज्ञप्तिमार्फत उपराष्ट्रपति पुनले कामना गरेका छन् ।