काठमाडौँ, पुस १० । जनशक्ति अभावले गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको बारेमा पूर्व सूचना दिने लगायतका प्रविधिमा जनशक्तिको अभाव खड्किएको हो ।
अहिले प्रतिष्ठानको प्रविधि संकायमा २५ कर्मचारी कार्यरत रहेका छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको प्रविधि सङ्कायका प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताए ।
आवश्यक मात्रामा जनशक्ति हुँदा मात्रै कार्यक्रम प्रभावित नहुने उनको भनाइ छ । प्रतिष्ठानले सोझै करारमा कर्मचारी नियुक्ति गर्न नमिल्दा कर्मचारीको अभाव खड्किएको हो ।
लोकसेवा आयोगले नै कर्मचारी नियुक्ति गर्ने हुँदा यहाँको सेवा आयोगले कर्मचारी नियुक्त गर्न पाएको छैन ।
प्रतिष्ठानले प्रदेशस्तरमा समेत शाखा खोल्ने योजना बनाएको छ ।
त्यसका लागि पनि पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको आवश्यकता पर्ने उनको भनाइ छ । प्रतिष्ठानले विज्ञान र प्रविधिको नयाँ÷नयाँ खोजी र अनुसन्धान गर्दै सफल भएका प्रविधि स्थानीय स्तरमा हस्तान्तरण गर्दै आएको छ ।