उपत्यकाका ७५ स्थानमा सिसी क्यामरा थपिने

काठमाडौँ, पुस १० । उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा महानगरीय प्रहरी कार्यालय काठमाडौँले सिसी क्यामरा थप्ने प्रक्रिया शुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले प्रहरीको आफ्नै स्रोत खटाएर तीन जिल्लाका मुख्य क्षेत्रमा क्यामरा थप्न लागेको जनाए ।

सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेश भएकाले पहिलो चरणको काम शुरु गरिएको थालिएको सिंहको भनाइ छ ।

स्थान पहिचान समितिको बैठक उनकै संयोजकत्वमा सोमबार बसेको थियो । बैठकमा तत्कालै १०० स्थानमा क्यामरा राख्नुपर्ने देखिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिवेदन दिएको थियो तर बजेट अभावका कारण पहिलो चरणमा ७५ स्थानमा क्यामरा थप्न लागिएको हो ।

क्यामरा जडान गर्न बोलपत्र आह्वान प्रक्रिया शुरु गरिएको छ । जस अन्तर्गत काठमाडौँमा २२, ललितपुरमा ३९ र भक्तपुरमा १४ वटा क्यामरा थप गरिनेछ । थप्न लागिएको क्यामरामध्ये आकासे पुल भएको ठाउँमा स्थायी र अन्य चोकमा भने घुम्ने क्यामरा जडान गरिने बताइएको छ ।

हाल उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा रहेका छन् ।

अहिले रहेका क्यामरा उपत्यकाका लागि निकै कम मानिन्छ । स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रको पहिचान गरी क्यामरा थप्ने महानगरीय प्रहरी कार्यालय काठमाडौँले बताएको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषी पत्ता लगाउन सिसी क्यामराले महत्वपूर्ण मद्दत पुग्ने भएकाले उपत्यकालाई नै निगरानी गर्ने गरी क्यामरा थप गर्ने प्रयास गरिएको छ ।