‘युवालाई उद्यम र व्यवसायमा लगाउने’

भक्तपुर, पुस १० । देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी रुपमा उद्यमशील युवा सिर्जनशील युवा अभियान थाल्न लागेको नेपाल तरुण दलका महासचिव एवं नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले बताएका छन् ।

मंगलबार मध्यपुरथिमि राधेराधे चोकमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तरुण दलले अब देशव्यापी रुपया यस्तो अभियान संचालन गर्ने बताएका हुन् ।

आगामी माघ महीनादेखि उपत्यकालगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान थाल्न लागेको र यसका लागि देशका सफल र ठूला उद्योगी व्यवसयीसँग तरुण दलले छलफल गरिरहेको महासचिव शाहीले जनाएका छन् ।

पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उद्देश्य राखिएको छ । व्यवसायमा सफल हुने सूत्रसहित युवालाई उद्यम र व्यवसायमा लगाउने उनको भनाइ छ ।

बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवा आफैँ व्यवसायी बन्न थालेका छन् उनले भने– युवा आफैँ उर्जनशील भएर काम गर्नु सबैको लागि प्रेरणादायी कुरा हो ।

उनले नेपाली कांग्रेसको महासमिति बैठकले कांग्रेस पार्टीभित्रको विवाद र समस्या सुल्झाउन सफल भएको भन्दै अब कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ने बताए ।

उक्त अवसरमा महासचिव शाहीले युवा व्यवसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु ४० लाखको लगानीको बर्गर हाउसको शुभारम्भ गरे ।

हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न लागेको जानकारी गराए ।