काठमाडौं, पुष १० । नेपाल पत्रकार महासंघले पुस ४ र ५ गते विराटनगरमा सम्पन्न गरेको राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशन अनुसार महासंघ केन्द्रीय समितिको ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले सो निर्देशनलाई कार्यान्वयन लैजाने निर्णय गरेसँगै उक्त सम्बन्धमा आज सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।
सो कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्न लागेको बताएका छन् ।
उनले महासंघको निर्वाचनका बेलामा हुने भड्किलो चुनावी प्रचार प्रसार अन्त्य गर्नका लागि चुनावलाई प्रत्यक्ष गर्न लागिएको विचार व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सञ्चारसम्वद्ध विभिन्न संघसंगठनका प्रतितिनिधिहरुले महासंघको विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन तथा धनकुटामा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई सकारात्मक रुपमा लिएको भन्दै महासंघले उठाएको प्रत्यक्ष निर्वाचन प्रणलीप्रति आ–आफ्नो संघसगंठनमा छलफल गरी महासंघलाई सुझाव दिने बताएका छन् ।