सरकारले गति लिन नसकेको नेता पौडेलको आरोप

काभ्रेपलाञ्चोक, पुस १० । वर्तमान सरकारलाई कसैको पनि रोकतोक नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

अरनिको मिडिया नेटवर्कले संचालन गरेको रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै उनले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने हो त्यो मार्न नसकेको बताए ।

दुई तिहाईको सरकार छ वरिष्ठ नेता पौडेलले भने– उसलाई यो अवसर र मौका पनि हो । सरकारले गति लिन नसकेको उनको आरोप छ । सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ उनले भने ।

सरकारले संविधान अनुसार वित्तीय आयोग नबनाएको उनले गुनासो गरेका छन् । वरिष्ठ नेता पौडेलले भने– वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ ।

कांग्रेसको महासमिति बैठकका बेला नमूना विधान बनाएको उनको भनाइ छ । तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ उनले भने ।

पूर्वराज्यमन्त्री लालध्वज तामाङले सत्यतथ्य समाचार जनतासम्म पुर्याउनका लागि सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।

पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले तीनै तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गरी गाउँगाउँसम्म विकासका खबर पुर्याउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पे्रस काउन्सिलका सदस्य ईश्वरी ओझा, काभ्रेपलाञ्चोक कांग्रे्रसका सभापति मधुप्रसाद आचार्य, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष गोपाल तिमल्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।