काठमाडौं, साउन ९ । पार्टीमा ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताउँदै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति नेतृत्वको सरकारमा महिलालाई उपप्रधानमन्त्री र पार्टीमा उपसभापति बनाउनु पर्ने माग गरेकी छिन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दे नेतृ कोइरालाले पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य भएको र यसको अन्त्य गरिनुपर्ने बताइन् । सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुले अब पार्टीमा स्थान पाउनुपर्ने उनको भनाई छ ।
पार्टीभित्र अहिले पनि राम्रा मान्छेहरुलाई राम्रो ठाउँमा स्थान नदिएर पाखा लगाइएको गुनासो गरिन् । पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरुलाई स्थान दिनुपर्ने भन्दै उनले एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउने गरी काम नगरी सबैलाई समेटेर जान आग्रह गरेकी छिन् ।
कांग्रेस नेतृ कोइरालाले संविधानमा उल्लेख भए अनुसार महिलालाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताउँदै संसदमा पनि महिलालाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराई पार्टीभित्र स्थान दिनुपर्ने कुरा व्यक्त गरिन् । महिला उपप्रधानमन्त्री किन नहुने भन्ने प्रश्न गर्दै उनले कांग्रेसले पाटीभित्र महिलाहरुलाई स्थान स्थान दिइनुपर्ने बताइन् ।