ललितपुर, पौष १३ । ललितपुरकी उपमेयर गिता सत्यालको पहलमा भैसेपाटीस्थित जन उदय माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुले पुसको ठण्डीमा न्यानो स्वीटर पाएका छन् ।
विद्यालय अनुगमन कार्यक्रम अन्तर्गत उपमेयर गीता सत्याल पुष नौ गते विद्यालय पुगेकी थिइन् । त्यहाँ उनले विद्यार्थीबाट स्वीटर किन्न नसकेको कुरा सुनेपछि भावुक बनेर फर्किएकी थिइन् ।
गत पुष ९ गते विद्यालय अनुगमनका क्रममा पातलो सर्ट मात्रै लगाएका विद्यार्थी नजिक पुगेर उनले सोधेकी थिइन् , ‘बाबु स्वीटर खै ?’ जव विद्यार्थीले जवाफ दिन थाले, ती विद्यार्थीको कुरा सुनेर उपमेयर सत्यालले थाम्न नसकेर कोठा बाहिर निस्किएकी उनले आफुले विद्यार्थीहरुलाई सहयोग गर्ने बताएकी थिइन् ।
जैन श्वेताम्बर तेरापन्थ महिला मंण्डललेका सहयोगमा स्वीटरसहित स्वच्छता सम्बन्धी सामग्री (मंजन , ब्रस र साबुन) प्रदान गरिएको थियो । कार्यक्रममा रोटरी क्लब काष्ठमण्डपले दिएको स्टेसनरी सामग्री पनि वितरण गरिएको थियो ।
महानगरपालिकाका ललितपुरका प्रमुख प्रसाशकीय अधिकृत प्रेम भट्टराईले विद्यार्थीको आवश्यकता र अवस्था हेरेपछि स्वीटर दिने निर्णय गरेको बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको भूमिका महत्वपूर्ण भएको बताउँदै महानगरले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक मोदनाथ लम्सालले विद्यार्थीको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राखेर स्वीटरको व्यवस्था गरिदिएकोमा धन्यवाद दिए । उनले सामुदायिक विद्यालय शैक्षिक अवस्था सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकको त्रिपक्षीय सहकार्य तथा समन्वयले नै सहज हुने वताए ।
स्वीर वितरण कार्यक्रम ललितपुर महानगरपालिकाका शिक्षा शाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्री, शिक्षक महासंघ ललितपुरका अध्यक्ष लोकबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।