नेपाल एपीएफ स्कूलको ‘वार्षिक खेलकुद सप्ताह–२०७५’ सम्पन्न

काठमाडौं, पौष १३ । नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘वार्षिक खेलकुद सप्ताह–२०७५’ सकिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज सोही स्कूलमा आयोजित एक कार्यक्रमका वीच खेलकुद सप्ताहको समापन गरे ।

विविध खेलकुद गतिविधि समावेश गरिएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेलहरुमा विजयी भएका छात्रछात्राहरुलाई पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरे ।

समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापाले समेत विजयी छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरे ।

सो विद्यालयका संरक्षक समेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यस अवसरमा विद्यार्थी वर्गको प्रतिभाको प्रशंसा गर्दै शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको प्रयासले सो विद्यालय आजको अवस्थामा आउन सफल भएको उल्लेख गरे ।

उनले विद्यार्थीवर्ग देशका कर्णधार भएको चर्चा गर्दै अध्ययन अध्यापनसँगै खेलकुद गतिविधिले विद्यार्थीवर्गमा अनुशासन एवं सामुहिक भावना विकास गर्न मद्दत गर्नुका साथै खेलकुदले मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहन तथा व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निभाउने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो विद्यालयको विकास एवं विस्तार र उत्कृष्ट शिक्षाका लागि स्रोतसाधन जुटाउन सशस्त्र प्रहरी बल नेपालले विभिन्न प्रयासहरु गरिरहेको जनाए ।

ज्ञान आर्जन गर्नेतर्फ बिद्यार्थीवर्ग केन्द्रीत हुनुपर्ने बताउँदै उनले अनुशासित भई गरेको निरन्तरको मेहनतबाट सफलता प्राप्त गर्न सकिने बताए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शिक्षकवर्गले आफ्ना विद्यार्थीहरुलाई अभिभावक भएर उत्कृष्ट शिक्षा प्रदान गर्न हरप्रयास गर्नुपर्ने कुरा समेत उल्लेख गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले धन्यवाद ज्ञापनको क्रममा शैक्षिक गतिविधिसँगै खेलकुदले बालबालिकाको सर्वाङ्गिण विकासमा मद्दत गर्ने भन्दै अनुशासन, नेतृत्व शैली, रचनात्मक तथा सकारात्मक भावनाको विकास गर्न समेत खेलकुदको महत्व रहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो विद्यालयलाई उत्कृष्ट बनाउन संगठनले निरन्तर रुपमा विभिन्न प्रयासहरु गरिरहेको चर्चा समेत गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाचार्य अजबहादुर के.सी.ले स्वागत मन्तव्यको क्रममा सो विद्यालयले उत्कृष्ट नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबाबु थापा तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगाएत विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी, विद्यार्थीका अभिभावकवर्गले उपस्थिति जनाएका थिए ।

सो कार्यक्रममा छात्रछात्राहरुले राष्ट्रिय गान एवं कलात्मक मार्चपास, मास पिटी तथा सामूहिक रुपमा काता प्रदर्शन समेत गरेका थिए । खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, एथलेटिक्स, टेवल टेनिस, दौड लगायतका खेलहरु समावेश गरिएको थियो ।