कृष्णनगर, पुस १५ । पैसाको लोभमा पारेर सात महीनादेखि बन्धक बनाइएका नौ नेपाली महिलाको उद्धार गरिएको छ । पैसाको प्रलोभनमा पारी खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।
उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश फर्काइएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो । केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।
नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको जनाइएको छ । भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाले बताएका छन् ।
केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारी अनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका बताइएको छ ।
मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजाराँै महिला तथा किशोरी परेका छन् ।
रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले दुःखकष्ट बेहोरिरहेका छन् । वेरोजगारको समस्या वृद्धिले मानव बेचबिखनका घटना बढ्दै जान थालेको हो ।